विमानस्थलबाटै गाँजा ओसारपसार गर्न खोज्ने दुई भारतीय पक्राउ
सहयात्रा टिभी
काठमाडौं । पुस ७, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडान हुँदै बैंककबाट काठमाडौँ आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट लागूऔषध फेला परेपछि पक्राउ गरेको हो । सोही लागूऔषध सङ्कलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तरराष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।


