महाधिवेशन नगरी चुनावमा जाँदैनौँ : गगन थापा
सहयात्रा टिभी
काठमाडौं । पुस ७, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानलाई सही मार्गमा फर्काउन आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । तर, पार्टीको महाधिवेशन सम्पन्न नगरी कांग्रेस निर्वाचनमा सहभागी नहुने उनले स्पष्ट पारेका छन् ।

सोमबार धुम्बाराही ब्यांकेटमा काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा महामन्त्री थापाले महाधिवेशनविना पार्टी चुनावमा जान नसक्ने, जान नहुने र नजाने कुरामा प्रस्ट हुन आग्रह गरे । वडा अधिवेशनको सन्दर्भमा तोकिएको मिति एक–दुई दिन तलमाथि हुन सक्ने भए पनि अधिवेशन नरोकिने उनको दाबी छ । उनले नियमित प्रक्रियाबाट वा विशेष महाधिवेशनमार्फत भए पनि अधिवेशन सम्पन्न गरेरै पार्टी चुनावी मैदानमा उत्रिने बताए ।
महामन्त्री थापाले देशको संविधान ‘ट्रयाक’ भन्दा बाहिर गएको भन्दै यसलाई सच्याउन तोकिएकै मितिमा निर्वाचन अपरिहार्य रहेको बताए । निर्वाचनले नयाँ संसद् गठन गर्ने र उक्त संसद्ले संवैधानिक प्रक्रियालाई अघि बढाउने उनको भनाइ छ । यदि अहिले चुनाव हुन सकेन भने मुलुक २००७ सालदेखि २०१५ सालको जस्तै गम्भीर अन्योल र अनिश्चिततामा फस्ने चेतावनी पनि उनले दिए ।
चुनावी परिणाम कांग्रेसका लागि अनुकूल वा प्रतिकूल जे भए पनि देशलाई निकास दिन चुनावमा जानैपर्ने उनको तर्क छ । नतिजालाई आफ्नो पक्षमा पार्न पार्टीभित्र छलफल र मेहनत गर्ने तर चुनावबाट भाग्न नहुने कुरामा महामन्त्री थापाले जोड दिए ।


