रवि र बालेनबीच मध्यरातको भेटमा के भयो सहमति ?
सहयात्रा टिभी
काठमाडौं । पुस ८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार मध्यरातमा भएको भेटवार्तालाई दुवै पक्षका निकटस्थहरूले सकारात्मक रूपमा अर्थ्याएका छन् । सहकारी ठगी प्रकरणमा लामो समय हिरासतमा रही गत शुक्रबार धरौटीमा रिहा भएपछि राजनीतिक सक्रियता बढाएका लामिछाने र मेयर शाहबीचको यो संवादलाई अर्थपूर्ण मानिएको छ ।

रास्वपा नेता असिम साहको काठमाडौँस्थित ‘जी–२१’ म्युजिक कम्पनीको कार्यालयमा भएको उक्त भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ । भेटघाटको संयोजन गरेका नेता असिम साहका अनुसार दुई नेताबीच देशको वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै मिलेर अघि बढ्नुपर्ने र राजनीतिक सहकार्य गर्नुपर्ने विषयमा छलफल भएको थियो । छलफलमा भएका ठोस विषयहरू सार्वजनिक नगरिए पनि यो भेटले पछिल्लो समय देखिएको राजनीतिक दूरी घटाउने प्रयास गरेको र एकताको सन्देश दिएको बुझिएको छ । भेटवार्तापछि दुवै नेता एउटै गाडीमा चढेर बाहिरिएका थिए ।
भेटपछि सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै नेता असिम साहले यसलाई ‘कथाको सुखद सुरुवात’ को संज्ञा दिएका छन् । उनले रवि र बालेनको मिलनलाई दुई दाजुभाइको मात्र नभई देशले खोजेको आशाको मिलन भन्दै सबै नेपालीलाई बधाई समेत दिएका छन् ।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा पनि साहले देशको माग नै रवि र बालेन मिलेर अघि बढ्नुपर्ने रहेको र यो भेटले अब अगाडि बढ्ने बाटो तय गरेको उल्लेख गरे । कारागार बसाइपछि रिहा भएका लामिछानेले विभिन्न राजनीतिक भेटघाट र पार्टी गतिविधिलाई तीव्रता दिइरहेका बेला भएको यो मध्यरातको भेटले नयाँ राजनीतिक सहकार्यको संकेत गरेको छ ।


