ओली र लेखकलाई बयानमा बोलाउन पत्र काटिँदै
सहयात्रा टिभी
काठमाडौं । पुस ८, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरूको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगले उनीहरूसँग घटनाका विषयमा जानकारी लिन पत्र काटेर बोलाउने प्रक्रिया अघि बढाएको हो ।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओली र लेखकलाई आयोगमा उपस्थित गराउन एक–दुई दिनभित्रै पत्र पठाइनेछ । उक्त पत्रमा दुई देखि तीन दिनको म्याद दिने तयारी भइरहेको छ । पूर्वप्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चहरूमा आफू बयान दिन नजाने बताउँदै आएको सन्दर्भमा, पत्र पठाएपछि पनि उनी उपस्थित नभए आयोगले सोही अनुसारको आवश्यक निर्णय लिने प्रवक्ता शर्माले स्पष्ट पारेका छन् ।
यसैगरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई कार्की आयोगले बयानमा बोलाउने वा नबोलाउने भन्ने विषयमा भने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन । प्रवक्ता शर्माले मेयर शाहको हकमा आयोगले अझै अध्ययन गरिरहेको र कुनै निर्णय भइनसकेको जानकारी दिए ।
अर्कोतर्फ, राष्ट्रिय मानवअधिकार आयोगले पनि सोही घटनाको अनुसन्धानका सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई सोधपुछका लागि पत्र पठाइसकेको छ । आयोग स्रोतका अनुसार ओलीले आफ्नो पार्टीको महाधिवेशन सकिएपछि सम्पर्क गर्ने जवाफ दिएका छन् । मानवअधिकार आयोगले यसअघि नै तत्कालीन गृहमन्त्री रमेश लेखक, काठमाडौँका मेयर बालेन शाह, मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृह सचिव तथा प्रहरी उच्च अधिकारीहरूसहित १४६ जनासँग बयान तथा सोधपुछ गरिसकेको छ ।


