रवि र बालेनबीचको एकता वार्ता अन्तिम चरणमा, आज रातिसम्म खाका तयार हुने

सहयात्रा टिभी

काठमाडौं । पुस ११, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच पार्टी एकता वा सहकार्य गर्ने विषयमा जारी छलफल निर्णायक मोडमा पुगेको छ । दुई नेताबीचको संवादलाई मूर्तरूप दिन असीम शाह, आसिफ शाह र कुमार बेनले शुक्रबार रातिसम्म विस्तृत सहमतिको खाका तयार पार्ने गरी गृहकार्य तीव्र बनाएका छन् ।

स्रोतका अनुसार एकता वा सहकार्यको घोषणा हुँदा बन्ने एकीकृत पार्टीको वरीयतामा सभापति रवि लामिछानेपछि दोस्रो स्थानमा बालेन शाह रहने गरी समझदारी बन्न लागेको छ । यसका साथै, बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने आफ्नो पुरानो प्रतिबद्धतामा रवि कायम रहेपछि सहमति नजिक पुगिएको हो । बिहीबार अपराह्नसम्म चलेको वार्तामा पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवार अनुपातबारे छलफल भएको थियो । रविले समानुपातिकतर्फ ७०–३० को अनुपातको प्रस्ताव गरे पनि बालेनले संख्याको जिम्मा मध्यस्थकर्ता साथीहरूलाई नै छाडिदिएका छन् ।

यसअघि पुस ७ गतेको छलफलपछि रविले बाहिर दिएको अभिव्यक्तिलाई लिएर बालेन असन्तुष्ट बनेका थिए । त्यसपछि बालेनले ‘देश विकास पार्टी’ मार्फत अघि बढ्ने तयारीस्वरूप परामर्श थालेपछि रवि झस्किएका थिए । तर, सहकर्मीहरूको निरन्तरको प्रयास र दबाबपछि दुई नेता पुनः संवादमा फर्किएका हुन् । हिजो ज्वागलमा भएको भेटपछि रविले चुनाव चिह्बारे ‘समयले बताउने’ प्रतिक्रिया दिए पनि बालेन रास्वपाको स्थापित चुनाव चिह्न ‘घण्टी’ स्वीकार्न तयार रहेको बुझिएको छ ।

यो एकता प्रयासमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि समेट्ने प्रयास भइरहेको छ । रवि र कुलमानबीच प्रत्यक्ष संवाद नभएको अवस्थामा बालेनले नै कुलमानलगायत विभिन्न स्वतन्त्र शक्ति र व्यक्तिहरूलाई एक ठाउँमा ल्याउने जिम्मेवारी लिएका छन् । यसै क्रममा बालेनले कुलमानसँग छुट्टै छलफल समेत गरिसकेका छन् ।

वार्तामा सक्रिय रास्वपा नेता असीम शाहले छलफल सकारात्मक निष्कर्षतर्फ उन्मुख भएको पुष्टि गरेका छन् । नयाँ शक्तिहरूबीचको एकता नयाँ पुस्ता (जेनजी) को भावना भएको भन्दै उनले सहमतिको प्रयासलाई चाँडै मिलनविन्दुमा पुर्‍याइने र छिट्टै सकारात्मक सन्देश आउने बताएका छन् । सम्भवतः आज शुक्रबार रातिसम्म संवादले अन्तिम टुंगो पाउने र तत्कालै एकता वा सहकार्यको घोषणा हुने बताइएको छ ।

प्रकाशित : 26 December, 2025

प्रतिक्रिया दिनुहोस्