रौतहटको मदिरा उद्योगमा विष्फोट: एकको मृत्यु, ६ जना घाइते
सहयात्रा टिभी
काठमाडौं । पुस १२, रौतहटको कटहरीया नगरपालिका–९ मा सञ्चालित ज्योती डिस्टीलरी उद्योगमा आज बिहान भयानक दुर्घटना भएको छ। मदिरा उत्पादन गर्ने उक्त उद्योगको बोइलर एक्कासी विष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना कामदार घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार विष्फोटमा परी लक्ष्मण राय यादवको ज्यान गएको हो। बिहान ठूलो आवाजसहित भएको विष्फोटको धक्काले बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली, प्रेमजित राय र जगदिश राय घाइते भएका छन्।
घटना लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ। एसपी कार्कीका अनुसार गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ। प्रहरीले घटनास्थल नियन्त्रणमा लिई विष्फोटको कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।


