केमा अल्झियो बालेन र रास्वपाबीचको सहमति ?
सहयात्रा टिभी
काठमाडौं । पुस १२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच शुक्रबार नै टुंगिने भनिएको एकता प्रक्रिया शनिबार आइपुग्दा थप अनिश्चित बनेको छ। दुई पक्षबीचको वार्ता निष्कर्ष उन्मुख भइरहेका बेला बालेन शाहको टोलीले ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि अनिवार्य रूपमा सँगै लैजानुपर्ने अडान राखेपछि अन्तिम समयमा सहमति रोकिएको हो।

स्रोतका अनुसार रास्वपा र बालेन पक्षबीच शक्ति बाँडफाँटमा करिब–करिब सहमति जुटिसकेको थियो। सहमतिअनुसार बालेनलाई भावी प्रधानमन्त्री र रवि लामिछानेलाई पार्टी सभापतिको जिम्मेवारी दिने, पार्टीको नाम रास्वपा नै राख्ने र चुनाव चिन्ह घण्टी कायम गर्ने विषय टुंगो लागिसकेको थियो। पार्टी संरचनाको तल्लो तहमा दुवै पक्षले ५०–५० प्रतिशत हिस्सेदारी लिने विषयमा पनि सकारात्मक छलफल भइरहेको थियो। सुरुमा रास्वपाले बालेनसँग सहमति गरेर कुलमानलाई पछि जोड्ने रणनीति बनाए पनि बालेन पक्षले अहिले नै त्रिपक्षीय सहमति हुनुपर्ने बताएपछि वार्ता लम्बिएको हो।
शुक्रबार राति तीनै पक्ष (रवि, बालेन र कुलमान) बीच हुने भनिएको ‘डिनर मिटिङ’ अन्तिम समयमा रद्ध भएको थियो। त्यसपछि बालेनले गोदावरी पुगेर आफूनिकटहरूसँग परामर्श गरेका थिए। शनिबार बिहानैदेखि बालेन र कुलमान घिसिङबीच छुट्टै छलफल चलिरहेको छ। रास्वपाका वार्ता टोलीका सदस्यहरूले बालेन र कुलमानबीचको यही छलफलको निष्कर्ष कुरिरहेका छन्।
रास्वपाका नेताहरूले दुई पक्षीय सहमति मात्र भएको भए अहिलेसम्म हस्ताक्षर भइसक्ने बताएका छन्। यता कुलमान निकट स्रोतले भने यदि तीनै पक्षबीच सहमति नजुटेको खण्डमा बालेन र कुलमान एक ठाउँमा उभिने लगभग पक्का भएको दाबी गरेको छ। रवि लामिछानेसँगको वार्तामा पनि बालेनले नै कुलमानको तर्फबाट समेत कुरा गरिरहेकाले अबको कोर्स कसरी अगाडि बढ्छ भन्ने कुरा बालेन र कुलमानको आन्तरिक छलफलपछि मात्र प्रष्ट हुने देखिन्छ।


