युद्ध अन्त्यको प्रयासका लागि जेलेन्स्की र ट्रम्पबीच आइतबार फ्लोरिडामा भेटवार्ता हुने

सहयात्रा टिभी

काठमाडौं । पुस १२, रुससँग जारी युद्ध अन्त्य गर्ने उपायको खोजीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार फ्लोरिडामा आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन्। जेलेन्स्कीले अमेरिकाको मध्यस्थतामा तयार भइरहेको शान्ति योजना र सुरक्षा ग्यारेन्टीका विषयमा छलफल केन्द्रित हुने बताएका छन्।

जेलेन्स्कीले २० बुँदे शान्ति योजनाको काम ९० प्रतिशत पूरा भइसकेको र बाँकी काम छिट्टै टुंग्याउने बताएका छन्। यता, अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफूले अनुमोदन नगरेसम्म कुनै पनि योजना पक्का नहुने प्रतिक्रिया दिएका छन्। उनले जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैसँगको कुराकानी सकारात्मक हुने अपेक्षा गर्दै चाँडै पुटिनसँग पनि संवाद गर्ने बताएका छन्।

कूटनीतिक पहल भइरहँदा युक्रेनमा रुसी आक्रमण भने रोकिएको छैन। शनिबार बिहान रुसले गरेको हवाई आक्रमणमा राजधानी किभमा कम्तीमा ५ जना घाइते भएका छन् भने खार्किभमा २ जनाको मृत्यु भएको छ। रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रको ठूलो भूभाग नियन्त्रणमा लिएको छ। ह्वाइट हाउसले पूर्वी युक्रेनमा दुवै पक्षले सेना नराख्ने गरी ‘असैनिक क्षेत्र’ (Demilitarised zone) बनाउने प्रस्ताव अघि सारेको छ।

रुसी अधिकारीहरूले डिसेम्बर २०२५ सम्ममा समाधान नजिक पुग्ने संकेत गरे पनि युक्रेनले वार्ता भाँड्न खोजेको आरोप लगाएका छन्। जेलेन्स्कीले भने क्रिसमसको दिन ट्रम्पका दूतहरूसँग भएको कुराकानी फलदायी भएको र युद्ध अन्त्यका लागि नयाँ विचारहरू आएको बताएका छन्।

प्रकाशित : 27 December, 2025

प्रतिक्रिया दिनुहोस्