अनुदानको मल वितरणमा डिजिटल प्रणाली सञ्चालन
सहयात्रा टिभी
काठमाडौं । पुस १४ , कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरण प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले मल खरिद तथा बिक्री-वितरण कार्यमा हुने अनियमितता रोक्न र किसानको पहुँच सहज बनाउन यो डिजिटल प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको छ ।
यस प्रणाली मार्फत अब मल आयात, वर्तमान मौज्दात (स्टक) र बिक्री-वितरणको अद्यावधिक विवरण जुनसुकै समयमा हेर्न सकिने व्यवस्था गरिएको छ ।
विशेषगरी बजारमा मल वितरण गर्दा विक्रेताले गर्ने पक्षपात, तोकिएको भन्दा बढी मूल्य लिने र अनधिकृत व्यक्ति वा संस्थालाई मल बेच्नेजस्ता गुनासा सम्बोधन गर्न यो प्रणाली प्रभावकारी हुने मन्त्रालयको विश्वास छ ।
यस प्रणालीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको कुनै पनि सहकारी वा फर्मले पाएको कोटाको मल कुन-कुन किसानलाई कति परिमाणमा बिक्री गरियो भन्ने विस्तृत विवरण अब सर्वसाधारणले प्रत्यक्ष हेर्न पाउनेछन् ।
यो व्यवस्थाले मल वितरणमा हुने कालोबजारी र पहुँचवालाको दबदबा अन्त्य भई वास्तविक किसानले समयमै मल पाउने अपेक्षा गरिएको छ ।


