शीतलहरले सडक चिप्लो हुँदा दाउन्ने खण्ड ठप्प, १५ घण्टादेखि यात्रु अलपत्र

सहयात्रा टिभी

काठमाडौं । पुस १५ , अत्यधिक शीतलहरका कारण सडक ओसिलो र चिप्लो बनेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको दाउन्ने खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उकालो र ओरालो बाटोमा गाडीहरू चिप्लिन थालेपछि विगत १५ घण्टादेखि सवारी आवागमन ठप्प हुँदा हजारौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेका अनुसार, शीतलहरले भिजेको सडकमा सवारी साधनहरूको टायर चिप्लिएर अगाडि बढ्न नसकेपछि यातायात बन्द गर्नुपरेको हो । गाडीहरू गुड्न नसक्ने अवस्था आएपछि अहिले बर्दघाट र दुम्किबास दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । प्रहरीले शीतलहरको प्रभाव कम भई सडक केही ओभाएपछि मात्र यातायात सुचारु हुन सक्ने जानकारी दिएको छ ।

निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्डका अन्य क्षेत्रमा यात्रा केही सहज भए पनि दाउन्ने खण्डमा भने सडक मर्मतको काम अझै बाँकी रहँदा र त्यसमाथि मौसमको प्रतिकुलता थपिँदा समस्या जटिल बनेको छ । लामो समयदेखि सडक बन्द हुँदा यात्रुहरूले निकै सास्ती व्यहोर्नुपरेको छ । काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेका यात्रु विनोद परियारले आफू विगत १४ घण्टादेखि दाउन्नेको जाममा फसेको बताएका छन् । सडक खुल्ने अनिश्चितताका कारण बालबालिका, वृद्धवृद्धा र बिरामी यात्रुहरू बढी प्रभावित भएका छन् ।

प्रकाशित : 30 December, 2025

प्रतिक्रिया दिनुहोस्