एमालेले गर्‍यो चक्रे मिलनलाई गोरखा-२ बाट सिफारिस

सहयात्रा टिभी

काठमाडौं । पुस १८, गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

गुरुङले निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको बताएका छन् ।

गुरुङका अनुसार उनी २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन् । उनले पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील रहेको दाबी गर्दै आएका छन् ।

यसैबीच, मिलन गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै गोरखाका युवा नेता प्रविण अधिकारीले भने, ‘जो कोही निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छन्, त्यस्ता व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्छ ।’

एमालेको सिफारिसमा परेका गुरुङ भने विवादै विवादले घेरिएका पात्र हुन् । उनी पटक पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् ।

पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला उनीसहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो ।

 

प्रकाशित : 2 January, 2026

प्रतिक्रिया दिनुहोस्