रास्वपाको समानुपातिक सूचीबाट डा. अरनिको पाँडे बाहिरिए, नाम फिर्ता लिनेको संख्या ६ पुग्यो
सहयात्रा टिभी
काठमाडौं । पुस २१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीबाट डा. अरनिको पाँडेले आफ्नो नाम फिर्ता लिएका छन्। आइतबार राति बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनले आफ्नो नाम हटाउने निर्णयबारे जानकारी गराएका हुन्।

डा. पाँडेको बहिर्गमनसँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने प्रभावशाली व्यक्तिहरूको संख्या ६ पुगेको छ। यसअघि चर्चित हिमाल आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा सञ्चारकर्मी आसिफ साह, व्यवसायी सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले पनि बन्दसूचीबाट बाहिरिने घोषणा गरिसकेका छन्।
आफ्नो निर्णयबारे सामाजिक सञ्जाल फेसबुकमा लेख्दै डा. पाँडेले वर्तमान राजनीतिक परिस्थितिमा बन्दसूचीमा रहिरहनुको कुनै औचित्य नदेखेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ।”
पार्टीभित्रको आन्तरिक समीकरण र फेरिएको राजनीतिक वातावरणका कारण रास्वपाका पुराना र स्थापित अनुहारहरू धमाधम समानुपातिक सूचीबाट बाहिरिन थालेका हुन्। यसले पार्टीभित्रको उम्मेदवार चयन प्रक्रिया र भावी रणनीतिबारे नयाँ बहस सिर्जना गरेको छ।


