सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड बढी लुटपाट

सहयात्रा टिभी

काठमाडौं । पुस ३०, सिन्धुलीको घ्याङलेख गाउँपालिका२ हायूटारमा रहेको एसबीआई बैंक शाखा कार्यालय अज्ञात समूहले मंगलबार राति लुटपाट गरेको छ । अन्दाजी ९/१० जना नकावधारी लुटेरा समूहले बैंकका गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरि फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार गार्ड रुद्रबहादुर कार्की तथा कर्मचारीहरुलाई नियन्त्रणमा लिएर बैंक फोडेर नगद लुटेर लगेका छन् । गाउँपालिका अध्यक्ष जगत भोलनका अनुसार बैंकका गार्ड कार्कीलाई खुकुरी प्रहार गरि घाइते बनाइ बाँधेर बैंक लुटपाट भएको थियो । लुटेराले के कती रकम लुटपाट गरे भन्ने एकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बस्तीपुर र स्थानीयहरुसमेतले खोज तलास गर्दा एक बोरा पैसा नजिकैको जंगलमा फेला परेको थियो । बैंक स्रोतका अनुसार लुटेराले तीन करोड ११ लाख लुटेका थिए । प्रहरीले लुटेराहरुले रिजर्भमा लिएर आएको सुमो गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रमुख सुवेदीका अनुसार प्रहरी परिचालन गरि लुटेराको खोजबिन भैरहेको छ । चालकले प्रहरीलाई दिएको बयानमा बनेपाबाट बिहेमा जाने भनि लुटेराले गाडी रिजर्भ गरेर आएका थिए । घाइते बैंकका गार्ड कार्कीका अनुसार भान्सामा खाना बनाइरहेको समयमा एक्कासी कोठामा प्रवेश गरि हातमा खकुरी प्रहार गरेर बाँधेर राखेको र अन्य कर्मचारीलाइ पनि नियन्त्रणमा लिइ लुटपाट गरेका थिए ।

प्रकाशित : 14 January, 2026

प्रतिक्रिया दिनुहोस्