कांग्रेस कार्यवाहक सभापति खड्काले आज पत्रकार सम्मेलन गर्ने
सहयात्रा टिभी
काठमाडौं । माघ २, नेपाली कांग्रेसभित्रको बढ्दो आन्तरिक विवाद र समानान्तर गतिविधिका बीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज विशेष पत्रकार सम्मेलन गर्दैछन्। प्राप्त जानकारी अनुसार, पार्टीको आधिकारिक धारणा स्पष्ट पार्न दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा नेताहरूको उपस्थितिमा यो सम्मेलन आयोजना हुन लागेको हो।

नेपाली कांग्रेसमा लामो समयदेखि संस्थापन पक्ष (शेरबहादुर देउवा) र इतर पक्ष (गगन–विश्वप्रकाश समूह) बीच नीति, नेतृत्व र कार्यशैलीलाई लिएर तीव्र मतभेद रहँदै आएको थियो। पछिल्लो समय यो विवाद उत्कर्षमा पुग्दा पार्टीभित्र ‘विद्रोह’को स्थिति सिर्जना भएको हो।
गगन थापा नेतृत्वको समूहले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको एजेन्डा उठाउँदै ‘विशेष महाधिवेशन’ सम्पन्न भएको दाबी गरेको छ। सोही समूहले आफूलाई वैधानिक दाबी गर्दै निर्वाचन आयोगमा दलको विवरण अद्यावधिक गर्न निवेदन दिएपछि कांग्रेस प्राविधिक रूपमा विभाजनको सँघारमा पुगेको देखिन्छ।
संस्थापन पक्षले विधानसम्मत महाधिवेशन नभएको भन्दै यो प्रक्रियालाई अवैध ठहर गरेको छ भने इतर पक्षले पार्टीले जनअपेक्षा अनुसार काम गर्न नसकेको र विधान मिचिएको भन्दै विशेष महाधिवेशनको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेको छ।
आजको पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।


