मधेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले दिए प्रदेश सांसदबाट राजीनामा
सहयात्रा टिभी
काठमाडौं । माघ ५, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले जनमत पार्टीबाट पनि पूर्ण रूपमा अलग भएको घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममार्फत भनेका छन्, “आज विधिवत रूपमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएँ। साथै, जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको छु।”
यो कदम उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि चालेका हुन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले आफ्ना दाइ सत्यवान कुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका छन्। सोही पार्टीबाट उनी उम्मेदवार बन्ने तयारीमा छन्।
सतिश सिंहले २०७९ को प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीको तर्फबाट चुनाव लडी विजयी भएका थिए। त्यसपछि जनमत पार्टीले उनलाई मधेश प्रदेशसभामा अर्थ समितिको सभापति र पछि मुख्यमन्त्रीको जिम्मेवारी दिएको थियो।
तर, २०८२ सालमा जेनजी (Gen-Z) आन्दोलनको समयमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले फेसबुकमार्फत मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए। पछि उनले सो निर्णय फिर्ता लिएपछि पार्टीले समर्थन फिर्ता लिएको थियो, जसले पार्टीभित्र विवाद निम्त्याएको थियो। त्यसयता पार्टीसँग उनको सम्बन्ध राम्रो हुन सकेको थिएन।
४३ वर्षीय सिंह सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ तिलाठीका स्थायी बासिन्दा हुन्। उनी २०७४ देखि २०७९ सम्म तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष पनि रहिसकेका छन्।


