सार्वजनिक सम्पत्ति जलाउनेलाई कारबाही हुनुपर्छ : अध्यक्ष ओली

सहयात्रा टिभी

काठमाडौं । माघ ७, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । बुधबार गृह जिल्ला झापामा जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरुको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानुनअनुसार दोषी रहेको बताए । आपराधिक गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने उनले बताए । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्ने बताए।

उनले भने, ‘राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा आपराधिक गतिविधि हुन् । अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नुपर्छ । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्छ । कारबाहीको दायरामा ल्याउनुपर्छ । अरुको घर जलाएर छोडिदिन पाइन्छ ? अहिलेको सरकार सायद उनीहरुकै सरकार हो । त्यसकारण उनीहरुलाई जोगाउने काम गरेको छ ।’

अन्तरिम सरकार देश जलाउनेहरुकै भएकाले पनि अपराधीहरुलाई कारबाही नगरेको उनको जिकिर छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमबार मात्रै झापा पुगेका थिए । झापा -५ बाट उनले आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्नेगरी मनोनयन गराएका छन् ।

प्रकाशित : 21 January, 2026

प्रतिक्रिया दिनुहोस्