रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध
सहयात्रा टिभी
काठमाडौं । माघ १०, शुक्रबारदेखि सुरु भएको निरन्तरको हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् । सडक ठप्प भएपछि काठमाडौंबाट रुकुमपूर्व र पश्चिमका लागि छुटेका बसहरू बीच बाटोमै फसेका छन्, जसका कारण कठ्याङ्ग्रिदो चिसोमा यात्रुहरूले निकै सास्ती खेप्नु परेको छ ।

हिउँमा गाडीहरू फसेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले उद्धारका लागि प्रहरी टोली परिचालन गरेको छ । इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा एउटा टोली घटनास्थलतर्फ पठाइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) उमा शंकरप्रसाद यादवले जानकारी दिए । डीएसपी यादवका अनुसार सो क्षेत्रमा अहिले पनि निरन्तर हिमपात भइरहेकाले हिउँ पन्छाउने र उद्धार गर्ने कार्यमा ठुलो चुनौती देखिएको छ ।
सडक सुचारु गर्न र फसेका यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउन स्थानीय प्रशासनले तदारुकता देखाएको छ । प्रमुख जिल्ला अधिकारी सीता परियारले भूमे गाउँपालिकासँगको समन्वयमा हिउँ पन्छाउनका लागि जेसेबी र स्काभेटर पठाइएको बताएकी छिन् । प्रशासनले यात्रुको सुरक्षित उद्धारलाई पहिलो प्राथमिकतामा राखेको भए पनि लगातारको हिमपातले गर्दा सडक खुलाउन केही समय लाग्न सक्ने प्रजिअ परियारको भनाइ छ । हिमपातका कारण रुकुमपूर्वका उच्च हिमाली भेगको जनजीवन समेत नराम्ररी प्रभावित बनेको छ ।


