बझाङमा हिमपात, किसानमा उत्साह
सहयात्रा टिभी
काठमाडौं । माघ १०, बझाङमा शुक्रबार रातिदेखि सुरु भएको हिमपात र हल्का वर्षाले जिल्लाको जनजीवन प्रभावित बनाए पनि कृषकहरूमा भने उत्साह जगाएको छ । जिल्लाका उच्च पहाडी क्षेत्रहरू हिउँले सेताम्मे भएसँगै प्राकृतिक सौन्दर्य निकै बढेको छ । लामो समयसम्म वर्षा र हिमपात नहुँदा सुक्न थालेका हिउँदे बालीहरूले पुनर्जीवन पाएपछि स्थानीय किसानहरूले राहत महसुस गरेका हुन् ।

विशेषगरी गहुँ, जौ र आलु जस्ता बालीका लागि यो हिमपात निकै लाभदायक हुने देखिएको छ । जयपृथ्वी नगरपालिका–१ का कृषक रामजन बहादुर सिंहका अनुसार लामो प्रतीक्षापछि भएको यो हिमपातले माटोमा चिस्यान बढाएको छ र बाली सप्रिने आशा जगाएको छ । कृषि प्राविधिकहरूले पनि बढ्दो चिसोका बाबजुद कृषि क्षेत्रका लागि यो मौसमी परिवर्तन सकारात्मक भएको बताएका छन् ।
यद्यपि, हिमपात र हावाहुरीका कारण जिल्लाको सेवा प्रवाहमा भने केही समस्या देखिएको छ । शुक्रबार दिउँसोदेखि अवरुद्ध भएको विद्युत् सेवा अहिलेसम्म सुचारु हुन सकेको छैन, जसले गर्दा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । हिमपातका कारण चिसो अत्यधिक बढेपछि उच्च हिमाली भेगको जनजीवन भने कष्टकर बनेको छ ।


