निर्वाचन आयोगले सोध्यो बालेन, हर्क, निकोलस र महेशलाई स्पष्टीकरण

सहयात्रा टिभी

काठमाडौं । माघ १३, प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भनेर परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

जसमा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), सुनसरी १ का उम्मेदवार हर्क साम्पाङ र रुपन्देही २ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर २ का उम्मेदवार महेश बस्नेतलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

बालेनको हकमा अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको स्टाटसमा कमेन्ट गरेको विषयमा स्पष्टीकरण सोधिएको छ ।

निकोसल भुसालको हकमा जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको छ ।

हर्क साम्पाङको हकमा चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको लगायतको विषयमा स्पष्टीकरण सोधिएको छ ।

महेश बस्नेतको हकमा बालेनलाई छाउरा भनेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको छ ।

भक्तपुर २ कै उम्मेदवार जानुका पाठकलाई पनि स्पष्टीकरण साधिएको छ । उनलाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।

यसैगरी, स्वास्थ्य स्वयमसेवक संघलाई पनि स्पष्टीकरण सोधिएको छ । अनुमति नलिइ आचारसंहिता लागूपछि अधिवेशन गरेको भनेर स्पष्टीकरण सोधिएको हो ।

प्रकाशित : 27 January, 2026

प्रतिक्रिया दिनुहोस्