दलहरूलाई एजेण्डासहित चुनावी प्रचारप्रसारमा संलग्न हुन आग्रह

सहयात्रा टिभी

काठमाडौं । माघ १३, राष्ट्रिय सभाका सांसदहरूले राजनीतिक दलहरूलाई एजेण्डासहित चुनावी प्रचारप्रसारमा संलग्न हुन आग्रह गरेका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरूले दलहरूसँग मुलुकको भविष्य कस्तो बनाउने मार्गचित्र हुनुपर्ने बताए ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको मुख्य माग भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्नु रहेकोले त्यसमा दलहरूले के कस्ता नीति बनाएका छन् भन्ने मतदाताले थाहा पाउनुपर्ने उनीहरूको आग्रह छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगाकुमारी बेलवासेले भावी प्रधानमन्त्री को हुने भन्ने विषयले मात्रै नपुग्ने बताइन् ।

नेपाली कांग्रेसका सांसद नारायण दत्त मिश्रले नेपालमा व्यवस्थालाई खोट देखाउने प्रवृत्ति रहेको बताए ।

विकसित मुलुकहरू राजनीतिक परिवर्तनपछि आफ्नो अनुकुलको शासन व्यवस्था अंगालेर अगाडि बढेका कारण सफल हुन सकेको उल्लेख गर्दै उनले भने, ‘हामीले पनि अब आफ्नो कथा आफैँ लेख्न सक्नुपर्छ ।’

२००७ सालको परिवर्तन संस्थागत हुन नपाउँदै २०१७ सालमा ‘कू’ हुन पुगेको र ३० वर्षसम्म पञ्चायती शासन चलेको उल्लेख गर्दै उनले २०४६ पछि पनि व्यवस्थामै खोट देखाइरहने प्रवृत्ति रहेको बताए ।

पछिल्लो समयको जेनजी आन्दोनलको सकारात्मक पक्षलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।

नेपालले अब परराष्ट्र नीतिमा स्पष्ट भएर बाँकी नीतिहरू तय गर्दै अगाडि बढ्नुपर्ने र यसका लागि कुन दलका के कस्ता नीति रहेका छन् भनेर जनताले थाहा पाउनुपर्ने उनको आग्रह छ ।

चुनावका बेला नागरिकले दल र उम्मेदवार हेरेर नभई एजेण्डा हेरेर मतदान गर्न पाउनुपर्ने र यसका लागि सबै गम्भीर बन्नुपर्ने उनको भनाइ रहेको छ ।

नेकपा एमालेका नेता गोपाल भट्टराईले जेनजी आन्दोलनको मुख्य माग सामाजिक सञ्जाल बन्दको फुकुवा र सुशासन स्थापना रहेको बताए ।

उनले गम्भीर प्रकृतिका मुद्दा खेपिरहेकाहरूको मुद्दा कमजोर पार्नतिर सरकार लागिरहेको बताए । स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा खेपिरहेका छन् । वर्तमान सरकार उनको मुद्दा कमजोर पार्ने प्रयासमा रहेको सांसद भट्टराईले आरोप लगाए ।

सांसद भट्टराईले पनि जेनजी आन्दोलनको माग के थियो र के भयो भन्ने विषयमा दलहरू प्रष्ट हुनुपर्ने र सोही अनुसार जनताको बीचमा जानुपर्ने बताए ।

प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैछ । राजनीतिक दल र उम्मेदवारहरू चुनावी प्रचारमा हिडिँसके । दलहरू धमाधम घोषणापत्र लेखनमा जुटेका छन् ।

दलहरूले समयमै घोषणापत्र जारी गर्न नसक्दा मतदाता दलको एजेन्डा थाहा पाउन भन्दा उम्मेदवारका कुरा मात्र सुन्न बाध्य भइरहेका छन् ।

 

प्रकाशित : 27 January, 2026

प्रतिक्रिया दिनुहोस्