प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने
सहयात्रा टिभी
काठमाडौं । माघ १८, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार ४०० बढी कर्मचारी परिचालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २१४ मतदान केन्द्रमा एक हजार ४४२ जना कर्मचारी खटाइने भएको हो ।

निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँ रहेका सरकारी कार्यालयबाट विवरण माग गरिएको निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए । केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन र खटनपटनको काम अगाडि बढाइने उनको भनाइ छ ।
एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जनाको उम्मेदवारी कायम रहेको छ । यहाँ एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई अन्य मतदाता रहेका छन् । पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा आठ जना र सोभन्दा कम मतदाता भएको केन्द्रमा सात जना कर्मचारी खटाइने निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।
सुरक्षा दृष्टिले जिल्लाका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । (रासस)


