राष्ट्रपति पौडेल जापानको टोकियोमा

सहयात्रा टिभी

काठमाडौं । माघ १९, राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् ।

उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरेका थिए ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन जापान गएका हुन् । जापान भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते सोमबार जापान सरकारले अयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनेछन् ।

त्यस्तै, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने कार्यक्रम छ । भ्रमणका क्रममा उनीसँग जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा जापानी व्यावसायिक समुदायसँग र जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन् । नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

राष्ट्रपति पौडेल चार दिने भ्रमण सम्पन्न गरी यही माघ २१ गत बुधबार स्वदेश फर्कने कार्यक्रम छ । जापानको औपचारिक भ्रमणका लागि उनी माघ १८ गते आइतबार राति नेपालबाट जापान प्रस्थान गरेका हुन् ।

प्रकाशित : 2 February, 2026

प्रतिक्रिया दिनुहोस्