सल्यानको खलंगामा अटो दुर्घटना हुँदा १० जना घाइते
सहयात्रा टिभी
काठमाडौं । माघ १९, सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिकै खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १० जनामध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ । अटो चालक शारदा नगरपालिका ६ निबासी २५ वर्षीय अर्जुन डाँगीलाई भने कुनै चोट नलागेको र नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
चालकसँग सवारी चालक अनुमतिपत्र नभएको समेत प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


