कांग्रेस महामन्त्री पौडेलद्वारा १५ बुँदे अवधारणा सार्वजनिक
सहयात्रा टिभी
काठमाडौं । माघ २२, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्ना १५ बुँदे धारणा सार्वजनिक गरेका छन् ।

कांग्रेसले अब सपना मात्र देखाउने नभई ती सपनालाई नतिजामा बदल्ने ‘अपेरेटिङ सिस्टम’ नै फेर्नुपर्ने बताउँदै महामन्त्री पौडेलले भिडिओ वक्तव्यमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
वक्तव्यमा उनले वितरणमुखी र परनिर्भर अर्थतन्त्रबाट मुलुकलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रमा लैजानुपर्ने बताएका छन् । त्यसका लागि अहिलेको अर्थतन्त्रमा प्रणालीगत सुधार आवश्यक रहेको उनको तर्क छ ।
महामन्त्री पौडेलले ज्ञानमा आधारित अर्थतन्त्र परम्परागत श्रम र पसिनाको निर्यातबाट हटेर बौद्धिक पुँजी र ज्ञानको निर्यातमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
यस्तै नेपालमा आर्थिक विकासमा कानुनी अड्चन एक प्रमुख कारक रहेको चर्चा गर्दै महामन्त्री पौडेलले दोस्रो चरणको आर्थिक सुधार र कानुनी पुनर्जागरणका लागि सर्वोच्च छाता ऐनमार्फत विकास र लगानीमा बाधक बनेका झन्झटिला कानुन विस्थापित गर्नुपर्ने बताएका छन् ।
मन्त्रालयबीच समन्वय अभाव र प्रशासनिक ढिलासुस्तीले अर्थतन्त्रको गतिमा बाधा परेको बताउँदै उनले फास्ट ट्रयाक सेवामार्फत समयबद्ध कार्यविधिको आवश्यकता औँल्याए ।
महामन्त्री पौडेलले ‘२१औँ शताब्दीको लोकतान्त्रिक समाजवाद’बारे चर्चा गर्दै समाजवादले कसैको प्रगतिमा बाधक नभई बरु गरिबी र अभावमा कसैलाई पर्न नदिन सुरक्षा आवश्यक रहेको तर्क गरेका छन् ।
महामन्त्री पौडेलले नेपाली डायस्पोराको उपयोग गर्दै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई ‘ब्रन गेन’मार्फत राष्ट्र निर्माणमा जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् ।


