रौतहटमा स्वपाले चुनावी प्रचारमा रहेको गाडीको ठक्करबाट बालिका मृत्यु

सहयात्रा टिभी

काठमाडौं । माघ २३, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रौतहटमा चुनावी प्रचारमा रहेको गाडीको ठक्करबाट बालिका मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ ।

शुक्रबार महामन्त्री कवीन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै सो घटनाको वस्तुनिष्ठ छानविनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी नराख्ने महामन्त्री बुर्लाकोटीले बताएका छन् । ‘साथै, पीडित परिवारलाई हुनसक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै महामन्त्री बुर्लाकोटीले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधन परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपङ्ति तथा उम्मेदवारलाई कडा निर्देशन दिएका छन् ।

बिहीबार दिउँसो साढे २ बजे रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा रास्वपाले चुनावी प्रचारमा प्रयोग गरेको बा १५ च ४२४४ नम्बरको कारको ठक्करबाट ४ वर्षीया अल्फा खातुनको मृत्यु भएको थियो । सो गाडी रौतहट–२ मा रास्वपाका उम्मेदवार सागिर आलमले प्रयोग गरेका थिए ।

दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 6 February, 2026

प्रतिक्रिया दिनुहोस्