टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

सहयात्रा टिभी

काठमाडौं । माघ २४, आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा सुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा हुनेछ ।


उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यस्तै, आज सवा ३ बजे भारतकाे इडेन गार्डेनमा वेष्ट इन्डिज र स्कटल्याण्ड तथा सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच वानखेडे रंगशालामा खेल हुनेछ ।

टी–२० विश्वकपमा नेपालले भोलि (आइतबार) आफ्नो पहिलो खेल खेल्नेछ । नेपालले भोलि दुईपटकको च्याम्पियन इंग्ल्यान्डसँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र इंग्ल्यान्डबिचको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

यस्तै, नेपालले २९ माघमा दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलोपटक विश्वकप खेल्दै छ । त्यसपछि २ फागुनमा पूर्वविजेता वेस्ट इन्डिज र ४ फागुनमा स्कटल्यान्डसँग भिड्ने तालिका छ ।

प्रतियोगितामा २० वटा टोली सहभागी हुँदैछन् । टोलीलाई चार समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन् । यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान, समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । यसैगरी, समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा रहेका छन् । प्रतियोगिता आगामी मार्च ८ सम्म चल्नेछ ।

प्रकाशित : 7 February, 2026

प्रतिक्रिया दिनुहोस्