नख्खु कारागारबाट फरार कैदी बालेनको घरमा चोरी गर्ने योजनाकार
सहयात्रा टिभी
काठमाडौं । माघ २५, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ छन् ।
उनीहरूले चप्पल कारखानास्थित सितादेवी गुरुङको घरमा रहेको बालेन शाहको डेरा कोठामा चोरी गरेका थिए ।
राजवाहकलाई प्रहरीले २३ माघमा बाँसबारीबाट पक्राउ गरेको हो । उनीविरुद्ध यसअघि २४ जेठ २०७२ मा प्रहरी वृत्त कालिमाटी केही साधारण अपराधको कसुरमा र ८ असार २०७२ मा प्रहरी वृत्त महाराजगञ्जबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ ।
उनी चोरी गर्नेमध्येका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ । त्यस्तै उनको साथबाट प्रहरीले एक्रोन गोल्ड लेखिएको निलो बिँड भएको पिलास १ थान, सलाई रेन्ची, रेती, स्क्रु र कालो रंगको ज्याकेट बराबद भएको छ ।
त्यस्तै अर्का व्यक्ति खिमबहादुरलाई २४ माघमा जडिबुटीबाट पक्राउ गरिएको हो । उनी बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति रहेको पाइएको छ । ११ मंसिर २०७९ मा उनीविरुद्ध प्रहरी वृत्त बौद्धबाट मुद्दा चलेको थियो ।
श्रेष्ठलाई भने प्रहरीले २४ माघमै बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २९ कात्तिक २०६४ प्रहरी वृत्त बौद्धबाट जबरजस्ती करणीको कसुरमा मुद्दा चलेको देखिएको एसपी भट्टराईले बताए ।


