चुनावलाई मुलुकमा सदाचार स्थापनाको रुपमा लिनुपर्छ: प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौं । माघ २८, प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् ।

अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् ।

उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको भावनाअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणमा थप कदम उठाउने विश्वास पनि व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि प्रयाप्त संरचना र कानूनी तथा नीतिगत व्यवस्था भएपनि भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण नसक्नुको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगकै भएको धारणा राखिन् ।

भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अंगभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्ने प्रवृति अन्त्य नभएसम्म चाहेको सुधार गर्न नसकिने उनले बताइन् ।

त्यस्तै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावना अनुसार गठन भएको वर्तमान सरकारले नागरिकमैत्री प्रशासनको अनुभूति गराउने, भ्रष्टाचार नियन्त्रणलगायत समग्र शासकीय सुधारका कार्यलाई प्राथमिकतासाथ अघि बढाइरहेको उल्लेख गरिन् ।

उनले आगामी निर्वाचनपछि आउने सरकारलाई मार्गदर्शन हुने गरी सुशासनको मार्गचित्र तयारीको कार्य पनि अन्तिम चरणमा पुगेको समेत दाबी गरिन् ।

 

प्रकाशित : 11 February, 2026

प्रतिक्रिया दिनुहोस्