जुत्ता चुनाव चिह्न बनाएकोमा निकोलससँग आयोगले सोधे स्पष्टीकरण
सहयात्रा टिभी
२८ माघ, काठमाडौं । नेपाल जनसेवा पार्टीका उम्मेदवारहरूले निर्वाचन आयोगमा दर्ता भएको भन्दा फरक चुनाव चिह्न प्रयोग गरेर चुनाव प्रचार गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

जनसेवा पार्टीको चुनाव चिह्न सेतो र कालो रंगको जुत्ता हो । तर जेनजी आन्दोलनको ‘आइकन’ बनेको रक्ताम्य जुत्ताको प्रयोग गरेर चुनाव प्रचार गरेपछि आयोगको स्पष्टीकरण सोधेको हो ।
रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार निकोलस भूसालले गलत चुनाव चिन्ह् प्रयोग गरेको भन्दै आयोगमा उजुरी परेको थियो । त्यसपछि उनीमाथि स्पष्टीकरण सोधेको हो ।
‘आयोगमा दर्ता भएको भन्दा फरक चुनाव चिह्नको प्रयोग गरेर प्रचार गरेपछि दुई पटक स्पष्टीकरण सोधेको छ । पहिलो पटक सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएपछि दोस्रो पटक स्पष्टीकरण सोधेका छौं,’ आयोगका एक अधिकारीले भने ।
पहिलो स्पष्टीकरणको जवाफमा भूसालले जेनजी आन्दोलनको प्रतिक बनेकाले सहमतिमा नै जुत्ताको प्रयोग गरेको भनेका छन् । ‘रक्ताम्य जुत्ता वास्तविक तस्वीर हो ।
जुन मानिसको भावनासँग जोडिएको छ । यसरी प्रयोग गर्न मिल्दैन,’ आयोगका ती अधिकारीले भने, ‘दोस्रो स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएमा आयोगले कारबाही गर्छ ।’
आयोगले रक्ताम्य जुत्ताको फोटोलाई चुनाव चिह्न राखेर प्रचार प्रसार गर्नमा रोक लगाउन सक्ने छ ।
जेनजी आन्दोलनको घाइते प्रकाश बोहराले उम्मेदवारहरूले गलत ढंगले जेनजी आन्दोलनको प्रतिक बनेको जुत्ताको फोटो प्रयोग गरेको भन्दै आयोगमा उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा आयोगले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
त्यसो त रक्ताम्य जुत्ताको तस्वीर भूसालले मात्र होइन भक्तपुर–२ बाट उम्मेदवारी दिएकी जानुका पाठक ९शोभा०ले पनि प्रयोग गरेकी छिन् । आयोगका अनुसार दर्ता भएको र आयोगले दिएको चुनाव चिह्नबाहेक अर्को चुनाव चिह्न राखेर प्रचार प्रसार गर्न मिल्दैन ।
उक्त रक्ताम्य जुत्ताको तस्वीर अनलाइनखबरका लागि दिनेश गौतमले कैद गरेका थिए ।


