दार्चुलामा वृद्धाको हत्या गरी गहना लुटपाटमा संलग्न दुई जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फागुन १, दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथलाई पक्राउ गरेको हो ।

उनकाअनुसार पक्राउ परेका साउद ट्याक्टर चालक हुन् भने नाथ उनको सहयोगीका रूपमा काम गर्थे ।

मृतक जोशीका छिमेकी समेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरिएको पाइएको प्रहरीले जनाएको छ ।

संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापा नेतृत्वको टोलीले घटनाको सफल अनुसन्धान गरेको र दुई जनालाई नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले जानकारी दिए ।

डीआईजी रानाकाअनुसार बयानका क्रममा दुवै जनाले अभियोग स्वीकार गरेका छन् । उनीहरूले जोशीको हत्यापछि लुटपाट गरेका गरगहना समेत बरामद गरिएको छ । झन्डै दुई तोला बराबरका गरगहना बरामद गरिएका छन् ।

उनीहरूमध्ये साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए ।उनीहरू लागूऔषध दुर्व्यसनीमा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 13 February, 2026

प्रतिक्रिया दिनुहोस्