प्रतिनिधिसभा निर्वाचन : आजदेखि औपचारिक प्रचारप्रसार सुरु

सहयात्रा टिभी

काठमाडौं । फागुन ४, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (फागुन ४ गते) देखि राजनीतिक दल तथा उम्मेदवारहरूले औपचारिक रूपमा चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार आजदेखि उम्मेदवारहरूले जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यममार्फत आफ्ना चुनावी एजेण्डाहरू सम्प्रेषण गर्न सक्नेछन् ।

कानुनी व्यवस्था अनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्रै औपचारिक प्रचारप्रसार गर्न पाइन्छ । सोही प्रावधान अनुरूप आजदेखि सुरु भएको प्रचार अभियान फागुन १८ गते राति १२ बजेसम्म चल्नेछ । यस अवधिमा दल र उम्मेदवारहरूले मतदातासमक्ष पुगेर प्रत्यक्ष रूपमा मत माग्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारहरूले निर्धारित मापदण्डभित्र रहेर पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत प्रचार गर्न सक्नेछन् । निर्वाचन आयोगका अनुसार आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण उम्मेदवार आफैँले वा प्रतिनिधिमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि आयोगले विशेष अनुगमन संयन्त्र परिचालन गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन गर्ने विरुद्ध ‘शून्य सहनशीलता’को नीति अपनाइने स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने र उल्लंघनको प्रकृति हेरेर उम्मेदवारी नै खारेज गर्नेसम्मको कानुनी कारबाही हुन सक्छ ।

सबै राजनीतिक दलहरूले यसअघि नै आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइसकेकाले आयोगले यसको कार्यान्वयनमा कडाइ गरेको हो ।

निर्वाचनको वातावरणलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिमाथि पनि आयोगले प्रतिबन्ध लगाएको छ । कुनै पनि दल वा उम्मेदवार विरुद्ध सङ्गठित रूपमा गलत प्रचारप्रसार गर्न नपाइने आयोगले स्मरण गराएको छ ।

प्रकाशित : 16 February, 2026

प्रतिक्रिया दिनुहोस्