युक्रेनका पूर्व ऊर्जामन्त्री देश छोडेर भाग्ने क्रममा पक्राउ
सहयात्रा टिभी
काठमाडौं । फागुन ४, युक्रेनका पूर्व ऊर्जामन्त्री जर्मन गालुश्चेन्कोलाई देश छोडेर भाग्न खोज्दा पक्राउ गरिएको छ। ठूलो भ्रष्टाचार काण्डमा नाम जोडिएपछि गत वर्ष मात्रै उनलाई मन्त्री पदबाट हटाइएको थियो।

अधिकारीहरूका अनुसार, गालुश्चेन्को रेल चढेर देशबाहिर जान लागेका बेला सीमा क्षेत्रबाट पक्राउ परेका हुन्। उनलाई थप सोधपुछका लागि राजधानी किभ लगिएको छ।
गालुश्चेन्कोमाथि ऊर्जा क्षेत्रमा करिब १०० मिलियन डलर (करिब साढे १३ अर्ब नेपाली रुपैयाँ) हिनामिना गरेको आरोप छ। युक्रेनको भ्रष्टाचार विरोधी निकाय (NABU) ले यस अनुसन्धानलाई ‘अपरेशन मिडास’ नाम दिएको छ। उनीमाथि युक्रेनको राष्ट्रिय परमाणु कम्पनी ‘एनर्जोएटम’का ठेकेदारहरूबाट १० देखि १५ प्रतिशतसम्म ‘किकब्याक’ (कमिसन) लिएको आरोप लगाइएको छ।
अनुसन्धानका अनुसार, यसरी भ्रष्टाचार गरिएको रकम विदेश र रुससमेत पठाइएको भेटिएको छ। अधिकारीहरूले छापा मार्ने क्रममा नगदले भरिएका झोलाहरू बरामद गरेको तस्बिर समेत सार्वजनिक गरेका छन्।
सरकारमाथि दबाब
यो भ्रष्टाचार काण्डले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशासनलाई ठूलो संकटमा पारेको छ। भ्रष्टाचार अन्त्य गर्ने बाचाका साथ सत्तामा आएका जेलेन्स्कीका निकटका सल्लाहकार एन्ड्री येर्माकले पनि यसै विवादका बीच राजीनामा दिइसकेका छन्। यद्यपि, राष्ट्रपति जेलेन्स्कीमाथि भने कुनै आरोप लागेको छैन।
रुसले युक्रेनका ऊर्जा केन्द्रहरूमा लगातार आक्रमण गरिरहेको र नागरिकहरूले चिसोको सामना गरिरहेको समयमा ऊर्जा क्षेत्रमै यति ठूलो भ्रष्टाचार हुनुले युक्रेनभित्र तीव्र आक्रोश पैदा गरेको छ।
युक्रेनका लागि युरोपेली संघ (EU) को सदस्यता प्राप्त गर्न भ्रष्टाचार नियन्त्रण गर्नु अनिवार्य सर्त मानिन्छ। यही कारणले पनि युक्रेनी सरकारले पछिल्लो समय उच्च पदस्थ अधिकारीहरूमाथि कडा निगरानी र कारबाही सुरु गरेको छ।


