रास्वपा बागमती उपसभापति दिनेश हुमागाईंले छाडे पार्टी
सहयात्रा टिभी
काठमाडौं । फागुन ७, निर्वाचनको सङ्घारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ठुलो झड्का लागेको छ । रास्वपाका बागमती प्रदेश उपसभापति एवं काभ्रेमा पार्टी विस्तारमा मुख्य भूमिका खेलेका नेता दिनेश हुमागाईंले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

बिहीबार राजीनामा घोषणा गर्दै हुमागाईंले पार्टीभित्र संरचनागत विकृति मौलाएको, आन्तरिक लोकतन्त्र समाप्त भएको र नेतृत्व तहमा गम्भीर नैतिक विचलन देखिएको आरोप लगाएका छन् । २०७९ को निर्वाचनमा काभ्रेबाट १० हजार ५ सय ७३ मत प्राप्त गरेका हुमागाईं यसपटक पनि उम्मेदवारका बलिया आकांक्षी थिए ।
हुमागाईंले आफ्नो राजीनामा पत्रमा पार्टीलाई ‘प्राइभेट कम्पनी’ को संज्ञा दिँदै सीमित व्यक्तिको स्वार्थमा चलेको उल्लेख गरेका छन् । वर्षौँदेखि संगठनमा खटिएका कार्यकर्तालाई पाखा लगाएर अन्य दलबाट आएका, मोबाइल पसलमा काम गर्ने, गीत गाउने वा ‘चटकदार’ छवि भएका व्यक्तिहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको उनको आरोप छ ।
उनले भनेका छन्, “पार्टीमा विधि र सिद्धान्तभन्दा व्यक्ति केन्द्रित निर्णय हाबी भयो । तल्लो तहका नेता-कार्यकर्तालाई ‘दास’ जस्तो व्यवहार गरियो र चाकडी गर्ने (गणेश प्रवृत्ति) हरूलाई मात्र पद दिने काम भयो ।”
हुमागाईंले पार्टीभित्र सदस्यता र उम्मेदवार आवेदन शुल्कको हिसाब पारदर्शी नभएको प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल र राजीनामा पत्रमार्फत पैसामा टिकट बेचिएको संकेत गर्दै नेतृत्वको नैतिकतामाथि प्रश्न उठाएका छन् ।
यस्तै, सभापति रवि लामिछाने जोडिएको सहकारी प्रकरण र प्रधानमन्त्रीको रूपमा प्रस्तावित बालेनको नागरिकता सम्बन्धी विवादले पार्टीमा नैतिक संकट पैदा गरेको उनको ठहर छ ।
निर्वाचन आउन मात्र दुई साता बाँकी छँदा हुमागाईंको बहिर्गमनले काभ्रे रास्वपामा ठुलो हलचल पैदा गरेको छ । काभ्रेमा हुमागाईंसहित जिल्ला सभापति प्रवीण ढकाल र ताराबहादुर कुँवर उम्मेदवारको दौडमा भए पनि अन्तिम समयमा बदन भण्डारीले टिकट पाएपछि असन्तुष्टि चुलिएको थियो ।
नेपाली कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका हुमागाईंले छोटो समयमै काभ्रेमा पार्टीलाई बलियो बनाएका थिए । तर, पार्टीको कार्यशैली र उम्मेदवार चयन प्रक्रियाप्रति असहमति जनाउँदै उनले निर्वाचनको मुखैमा साथ छाडेका हुन् । यो राजीनामाले रास्वपाको ‘नयाँ राजनीति’ को नारा र आन्तरिक व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।


