आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस
सहयात्रा टिभी
काठमाडौं । फागुन ८, आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तर्राष्ट्रिय समझदारी प्रवर्द्धन गर्नु यो दिवसको उद्देश्य हो।

यो दिवस सन् २००० देखि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) महासभाको आह्वानमा हरेक वर्ष फेब्रुअरी २१ मा मनाइन्छ । सन् १९९९ मा बङ्गलादेशलको पहलमा युनेस्कोले मातृभाषा दिवस मनाउने प्रस्ताव अघि सारेको हो ।
यो प्रस्तावलाई राष्ट्रसङ्घीय महासभाले सन् २००८ अनुमोदन गर्दै यसलाई अन्तराष्ट्रिय भाषा वर्ष घोषणा गरेको थियो । यसैबीच, अन्तर्राष्ट्रिय भाषा दिवसका अवसरमा यहाँस्थित बङ्गलादेशको राजदूतावासले सहिद स्मृति दिवसका साथ एक कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
शुक्रबार यसै अवसरमा भाषा आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा एक कार्यक्रम आयोजना गरेको थियो । त्यस अवसरमा उक्त मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका साथै नेपालका लागि बङ्गलादेशका राजदूत शफीकुर रहमान उपस्थित थिए।
युनेस्कोका अनुसार भाषाका माध्यमबाट विकासमा, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न, सहकार्य सुदृढ बनाउन र सबैका लागि गुणस्तरीय शिक्षा हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।


