अमेरिकासँग उत्तर कोरिया मिलेर अघि बढ्न सक्ने किम जोङको संकेत
सहयात्रा टिभी
काठमाडौं । फागुन १४, उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको परमाणु हतियारको भण्डार र यसको मार क्षमता (अपरेशनल रेन्ज) विस्तार गर्ने घोषणा गरेका छन् । राजधानी प्योङयाङमा आयोजित पार्टी कंग्रेसलाई सम्बोधन गर्दै किमले वासिङ्टनका लागि एक दुर्लभ सन्देश जारी गरी उत्तर कोरियालाई ‘परमाणु शक्ति राष्ट्र’ को रूपमा सम्मान गर्न अमेरिकासँग आग्रह गरेका हुन् ।

अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध सुध्रन सक्ने संकेत दिँदै किमले भने, “यदि अमेरिकाले उत्तर कोरियाको परमाणु हतियार अब स्थायी वास्तविकता हो भन्ने कुरा स्वीकार गर्छ भने मात्र दुई देशबीच सहकार्य सम्भव छ ।”
अमेरिकासँग वार्ताको ढोका खुला राखे पनि किमले दक्षिण कोरियासँगको कूटनीतिक सम्बन्ध सुधारको आशामा भने चिसो पानी खन्याइदिएका छन् । उनले दक्षिण कोरियालाई उत्तर कोरियाको “सबैभन्दा शत्रुतापूर्ण इकाई” को संज्ञा दिएका छन् । किमले अबदेखि सिओल (दक्षिण कोरिया) लाई ‘दाजुभाइ’ वा ‘स्वदेशवासी’ को श्रेणीबाट स्थायी रूपमा हटाउने घोषणा समेत गरे ।
“जबसम्म दक्षिण कोरियाले हामीसँग सीमा जोडिएको भू-राजनीतिक अवस्थाबाट उम्किन सक्दैन, तबसम्म सुरक्षित रहने एक मात्र उपाय भनेको हामीसँग सम्बन्धित सबै कुरा त्याग्नु र हामीलाई एक्लै छोड्नु हो,” उनले भने । विश्लेषकहरूका अनुसार किमले दक्षिण कोरियालाई पन्छाएर सिधै अमेरिकासँग स्वतन्त्र सम्बन्ध बनाउने रणनीति लिएका छन् ।
पार्टीको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै किमले भने, “हामी परमाणु हतियारको सङ्ख्या बढाउने र परमाणु सञ्चालनका साधनहरू विस्तार गर्ने योजनामा केन्द्रित हुनेछौँ ।” अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो सैन्य क्षमतामा आमूल सुधार गरेको दाबी गरेको छ ।
स्वतन्त्र थिंक ट्याङ्क ‘स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट’ (SIPRI) का अनुसार उत्तर कोरियासँग हाल करिब ५० वटा परमाणु वारहेडहरू तयारी अवस्थामा छन् र थप ४० वटा निर्माण गर्न पुग्ने आणविक सामग्री रहेको अनुमान छ ।
ट्रम्पसँगको सम्भावित वार्ता र निःशस्त्रीकरणको अस्वीकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी अप्रिलमा हुने चीन भ्रमणको पूर्वसन्ध्यामा किमको यो भनाइ सार्वजनिक भएको हो । ट्रम्पले आफ्नो पछिल्लो सुरक्षा मार्गचित्रमा ‘निःशस्त्रीकरण’ शब्द उल्लेख नगरेका कारण सन् २०१९ पछि रोकिएको ट्रम्प-किम वार्ता पुनः सुरु हुन सक्ने अड्कलबाजी गरिएको छ ।
तर, किमले निःशस्त्रीकरणको सम्भावनालाई पूर्ण रूपमा खारेज गरेका छन् । “निःशस्त्रीकरणको अवधारणाले अब आफ्नो अर्थ गुमाइसकेको छ, हामी परमाणु शक्ति राष्ट्र बनिसकेका छौँ,” उनले संसद्मा भनेका थिए, “हामीबाट निःशस्त्रीकरणको अपेक्षा गर्नु अन्तिम र व्यर्थ कुरा हुनेछ ।”
पार्टी कंग्रेसको समापनका क्रममा आयोजना गरिएको सैन्य परेडमा किमकी छोरी जु ए पनि उनीसँगै देखिएकी छिन् । १३ वर्षीया जु एलाई किमले आफ्नो उत्तराधिकारीका रूपमा तयार गरिरहेको दक्षिण कोरियाली गुप्तचर निकायको दाबी छ । परेडमा उनी आफ्ना पितासँगै म्याचिङ कालो छालाको ज्याकेटमा देखिएकी थिइन्, जसलाई धेरैले राजनीतिक सन्देशका रूपमा हेरेका छन् ।


