अमेरिकी सैनिक मृत्युको ‘बदला’ लिने ट्रम्पको चेतावनी
सहयात्रा टिभी
काठमाडौं । फागुन १८, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिएका छन्।सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत एक भिडियो सन्देश जारी गर्दै अमेरिकी सैन्य अधिकारीको मृत्युको बदला लिने घोषणा गरेका हुन्।

राष्ट्रपति ट्रम्पले आफ्ना सैनिकको मृत्युको बदला लिने र इरानी शासनमाथि ‘सबैभन्दा कठोर प्रहार’ गर्ने बताएका हुन्। उनले भनेका छन्, ‘अमेरिकाले यतिखेर एक विशाल सैन्य अभियान सञ्चालन गरिरहेको छ। यो केवल वर्तमान समय र स्थानको सुरक्षाका लागि मात्र नभई हाम्रा छोराछोरी र तिनका सन्ततिको भविष्यका लागि पनि हो।’ स्वतन्त्र नागरिकका लागि यो एक कर्तव्य र जिम्मेवारी भएको उनको भनाइ छ।
ट्रम्पले कट्टरपन्थी विरुद्ध अमेरिकाले अगाडि सारेको यो कदम सही भएको दाबीसमेत गरेका छन्। उनले थप भनेका छन्, ‘अमेरिकीहरूले आणविक हतियारले सुसज्जित कट्टरपन्थी र रक्तपिपासु आतङ्ककारी शासनको सामना कहिल्यै गर्न नपरोस् भन्नका लागि यी कदमहरू सही छन्।’
इरानविरुद्ध जारी सैन्य कारबाहीका क्रममा तीन अमेरिकी सैनिकको मृत्यु भएको खुलेको छ। यो हमलामा पाँच जना गम्भीर घाइते भएको सार्वजनिक गरिएको छ। अमेरिकी सेनाले इरानविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन एपिक फ्युरी’ अभियानका दौरान उक्त क्षति भएको जनाएको छ। संयुक्त आक्रमणपछि सुरु भएको द्वन्द्वमा पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको बताइएको छ।


