स्याङ्जा, धनुषा र दोलखाको मतदान विवाद कायमै, आयोगको निर्णयको पर्खाइ
सहयात्रा टिभी
काठमाडौं । फागुन २२, मतदानका क्रममा स्याङ्जा, धनुषा र दोलखा जिल्लामा उब्जिएको विवाद अझै सुल्झिन सकेको छैन । विवादका कारण ती क्षेत्रको अन्तिम टुंगो लाग्न नसक्दा त्यहाँ कार्यरत निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको आधिकारिक निर्णय कुरेर बसेका छन् ।

यसैबीच, निर्वाचन आयोगले भने विवादित क्षेत्रका विषयमा तत्काल निर्णय लिने जनाएको छ । आयोगको उच्च स्रोतका अनुसार स्याङ्जा, धनुषा र दोलखामा देखिएको समस्याबारे छलफल गर्न आयोगको बैठक बस्ने तयारी भइरहेको छ र उक्त बैठकले तत्काल आवश्यक निर्णय सार्वजनिक गर्नेछ ।
विशेषगरी दोलखाको मालुमा भएको विवादले मतदान प्रक्रिया नै प्रभावित भएको थियो । विवाद उत्पन्न भएपछि त्यहाँ केही समयका लागि मतदान स्थगित गरिएको थियो । पछि माइकिङमार्फत मतदातालाई पुनः बोलाएर मतदान सुचारु गर्ने प्रयास गरिए तापनि सो क्षेत्रका राजनीतिक दलहरूले यस विषयमा निर्वाचन आयोगले नै उचित निर्णय दिनुपर्ने अडान राख्दै आएका छन् ।
दोलखामा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट जगदीश खरेल, नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटी र नेकपा एमालेबाट पार्वत गुरुङ चुनावी मैदानमा छन् । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीबाट विशाल खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रवीणकुमार थोकर तामाङलगायतका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा रहेका छन् । सबैको नजर अब निर्वाचन आयोगको निर्णयतर्फ सोझिएको छ ।


