जाँचबुझ आयोगको प्रतिवेदन तयार, भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने

सहयात्रा टिभी

काठमाडौं । फागुन २३, गत भदौ २३ गते ‘जेनजी आन्दोलन’मा भएको दमन र त्यसको भोलिपल्ट भएको तोडफोड तथा विध्वंशबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन आइतबार (भोलि) सम्ममा सरकारलाई बुझाउने तयारी गरेको छ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको उक्त आयोगका पदाधिकारीहरू यतिबेला सिंहदरबारस्थित आफ्नो कार्यालयमा प्रतिवेदनलाई अन्तिम रूप दिन व्यस्त छन्। अहिले प्रतिवेदन लेखनका क्रममा हुनसक्ने सम्भावित त्रुटिहरू सच्याउने र रुजु गर्ने कार्य भइरहेको आयोगले जनाएको छ।

आयोगका एक पदाधिकारीले दिएको जानकारीअनुसार आज अपराह्नसम्ममा रुजु गर्ने काम सम्पन्न हुनेछ। “सबै काम समयमै सकिए आजै बेलुकी नभए भोलिसम्ममा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउने हाम्रो तयारी छ,” ती पदाधिकारीले स्पष्ट पारे।

प्रतिवेदनका साथै अनुसन्धानका क्रममा संकलन गरिएका सम्पूर्ण प्रमाण तथा महत्त्वपूर्ण कागजातहरूलाई वर्गीकरण गरी शिलबन्दी गर्ने कार्य पनि आयोगको सचिवालयले गरिरहेको छ। यी शिलबन्दी गरिएका सम्पूर्ण दस्तावेजहरू प्रतिवेदनसँगै प्रधानमन्त्रीलाई हस्तान्तरण गरिनेछ।

जेनजी आन्दोलनको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले गत भदौ २३ गते यो विशेष जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा अध्यक्ष कार्कीका साथै नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य रहेका छन्।

प्रकाशित : 7 March, 2026

प्रतिक्रिया दिनुहोस्