समानुपातिकतर्फ चार दलले कटाए थ्रेसहोल्ड
सहयात्रा टिभी
काठमाडौं । फागुन २५, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फको मतगणना पनि तीब्र पारिएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी गरी चार दलले समानुपातिकतर्फको थ्रेसहोल्ड पार गरेका छन्। तर, श्रम संस्कृति पार्टी भने अझै थ्रेसहोल्ड कटाउन संघर्षरत छ।

आयोगको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ रास्वपाले सर्वाधिक ४१ लाख ३१४ मत प्राप्त गरेको छ। त्यसैगरी, नेपाली कांग्रेसले १३ लाख ७२ हजार ८७०, नेकपा एमालेले ११ लाख ६१ हजार ४ सय र नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ९८ हजार १३७ मत पाएका छन्। उता, श्रम संस्कृति पार्टीले हालसम्म २ लाख ९७ हजार ३१६ मत मात्र प्राप्त गरेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना सांसद प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिन्छन् भने बाँकी ११० जना समानुपातिक प्रणालीमार्फत आउँछन्। समानुपातिकतर्फ सिट प्राप्त गर्न दलहरूले खसेको कूल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ, जसलाई ‘थ्रेसहोल्ड’ भनिन्छ। आयोगका अनुसार यसपटक समानुपातिकतर्फ करिब १ करोड ९ लाख मत खसेको छ।
निर्वाचन आयोगले आगामी फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सम्पूर्ण मतगणना सम्पन्न गर्ने लक्ष्य राखेको छ। मतगणना सकिएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले पाएको मतभारका आधारमा आयोगले कुन दलले कति सिट पाउने भन्ने संख्या निर्धारण गर्नेछ।
सिट संख्या निर्धारण भइसकेपछि आयोगले दलहरूलाई तोकिएको समावेशी क्लस्टर मिलाएर बन्दसूचीभित्रबाट सांसदहरूको नाम सिफारिस गर्न पत्राचार गर्नेछ। दलहरूबाट प्राप्त नामावली क्लस्टरअनुसार मिले/नमिलेको रुजु गरिसकेपछि मात्र आयोगले निर्वाचित सांसदहरूको नाम यकिन गरी प्रमाणपत्र वितरण गर्नेछ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी चैत ५ गतेभित्र निर्वाचित सांसदहरूलाई प्रमाणपत्र उपलब्ध गराउने लगायतका सम्पूर्ण कार्यहरू सम्पन्न गरिसक्ने लक्ष्यका साथ आयोगले काम गरिरहेको छ।


