समानुपातिकतर्फ १ करोड ३ लाख बढी मत गणना : झन्डै आधा मतसहित रास्वपाको वर्चस्व
सहयात्रा टिभी
काठमाडौं । फागुन २६, प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार मङ्गलवार बिहानसम्म देशभर कुल १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना सम्पन्न भएको छ।

हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता बनाउँदै आफ्नो वर्चस्व कायम गरेको छ। कुल गणना भएको मतमध्ये झन्डै आधा अर्थात् ४९ लाख ५८ हजार ७ सय ८१ मत रास्वपा एक्लैले प्राप्त गरेको छ।
त्यसैगरी, नेपाली काँग्रेस १६ लाख ७६ हजार ३ सय १० मतका साथ दोस्रो स्थानमा छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १३ लाख ९१ हजार ६ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थान ओगटेको छ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५४ हजार ४ सय ७३ मत आफ्नो पक्षमा पारेको छ। यसैगरी, श्रम संस्कृति पार्टी ३ लाख ४८ हजार १ सय ७८ मतसहित पाँचौँ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ लाख २३ हजार ९९ मतसहित छैटौँ स्थानमा रहेका छन्।
एक लाखभन्दा बढी मत ल्याउने अन्य दल
समानुपातिकतर्फ एक लाखभन्दा बढी मत कटाउने अन्य दलहरूमा जनता समाजवादी पार्टी (नेपाल) र राष्ट्रिय परिवर्तन पार्टी रहेका छन्। जसपा नेपालले १ लाख ७० हजार १ सय ३१ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६५ हजार १ सय मत प्राप्त गरेका छन्।
अन्य दलको अवस्था कस्तो छ ?
आयोगको प्रणालीमा प्रविष्ट विवरणअनुसार जनमत पार्टीले ७५ हजार ७ सय ३५ मत ल्याएको छ। त्यस्तै, एकल चुनाव चिह्न ‘चकिया (जाँतो)’ लिएर चुनाव लडेको गठबन्धनले ६० हजार ५ सय ५१ मत, नेपाल मजदुर किसान पार्टीले ४१ हजार ८ सय ९४ मत र राष्ट्र निर्माण दल नेपालले ३७ हजार ८ सय ६२ मत प्राप्त गरेका छन्।
यसैगरी राष्ट्रिय जनमोर्चाको पक्षमा २९ हजार २ सय २६ मत, नेपाल जनता संरक्षण पार्टीको पक्षमा २६ हजार ९ सय ९४ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीको पक्षमा २३ हजार ४ सय ७९ मत र नेपाल कम्युनिस्ट पार्टी माओवादीको पक्षमा २३ हजार २ सय ६४ मत परेको निर्वाचन आयोगले जनाएको छ।


