लेबनानका सहरमा इजरायलको आक्रमण
सहयात्रा टिभी
काठमाडौं । फागुन २७, इजरायलले लेबनानको राजधानी बेरुतका दक्षिणी शहरहरूमा नयाँ आक्रमण गरेको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

इजरायली सेनाले भने आफूले इरान समर्थित समूह हिजबुल्लाहलाई लक्षित लेबनानको राजधानी बेरुत र टायर शहरमा आक्रमण गरेको जनाएको छ । यसअघि इजरायली सेनाले टायर र सिडोनमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका बासिन्दालाई तुरुन्तै घर खाली गरेर कम्तीमा ३०० मिटर टाढा जान आग्रह गरेको थियो ।
गत साता अमेरिका–इजरायल संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अलि खामेनीको हत्या भएपछि त्यसको प्रतिक्रियामा हिज्बुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि मध्यपूर्वको युद्धमा तानिएको छ ।
सन् २०२४ को युद्धविरामपछि पनि इजरायलले हिज्बुल्लाहलाई लक्षित गरी आक्रमण जारी राख्दै आएको छ । पछिल्ला दिनहरूमा इजरायलले लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गर्नुका साथै सीमावर्ती क्षेत्रमा स्थलसेना पनि पठाएको छ ।
लेबनानको सरकारी सञ्चारमाध्यम नेसनल न्यूज एजेन्सीले इजरायलले बेरुतका दक्षिणी उपनगरहरूमा ‘भीषण आक्रमण गरेको’ जनाएको छ । उक्त क्षेत्र हिज्बुल्लाहको बलियो प्रभाव रहेको क्षेत्र मानिन्छ । प्रत्यक्ष प्रसारणका दृश्यहरूमा आक्रमण गरिएका स्थानहरूबाट धुवाँको मुस्लो देखिएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले दियो मानवीय क्षतिको जानकारी
लेबनानको स्वास्थ्य मन्त्रालयले बुधबार दक्षिणी टायर जिल्लाको काना सहरमा इजरायली सेनाले गरेको लगातारको आक्रमणमा पाँच जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको जनाएको छ । त्यस्तै टायर जिल्लाकै हेन्नावियेह क्षेत्रमा अघिल्लो रात भएको इजरायली आक्रमणमा दुई जना घाइते भएका थिए । त्यसपछि भएको अर्को आक्रमणमा ती दुवै घाइते र उद्धारका लागि पुगेका एक जना उद्धारकर्मीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अल जजिराका अनुसार दक्षिण लेबनानमाथि नियन्त्रणका लागि संघर्ष जारी छ । इजरायली सेनाले लेबनानको सीमाक्षेत्र र लेबनानी भूभागभित्र आफ्नो उपस्थिति बढाइरहेको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार इजरायलले दक्षिण लेबनानमा आफ्नो उपस्थितिलाई विस्तार गर्न र बफर जोन (सुरक्षात्मक क्षेत्र) बढाउन चाहेको छ । तर हेजबोल्लाहले भने विभिन्न मोर्चामा इजरायली सेनाको अग्रसरता रोकेको दाबी गरेको छ ।
हिज्बुल्लाहले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्ना लडाकुले दक्षिणी सीमावर्ती सहर खियाम र ओदाइस्सेह नजिक इजरायली सेनामाथि आक्रमण गरेको तथा इजरायलतर्फ रकेट प्रहार भएको जनाएको छ । ती आक्रमणमध्ये एउटा दक्षिण हाइफा नजिकको मिसाइल रक्षा केन्द्रमा पनि गरिएको दाबी गरिएको छ । हिज्बुल्लाहले पनि सीमावर्ती सहर आइतारौन नजिक इजरायली सेनासँग हल्का र मध्यम हतियार प्रयोग गरी भिडन्त भइरहेको पनि जनाएको छ ।
साढे ७ लाख भन्दा धेरै मानिस विस्थापित
अल जजिराका अनुसार दक्षिण लेबनानको बराशित सहरमा पनि इजरायली ड्रोन आक्रमण भएको छ । साथै लेबनानको राष्ट्रिय समाचार एजेन्सी एन.एन.ए.का अनुसार अदचित र ब्रेका सहरमा पनि हमला भएको छ । हारूफ सहरमा भएको आक्रमणमा चार जना घाइते भएका छन् ।
त्यसैगरी बेरुतको दक्षिणी उपनगर क्षेत्रमा पनि आक्रमण भएको छ । इजरायली सेनाले उक्त क्षेत्रका बासिन्दालाई ठाउँ खाली गराउन चेतावनी दोहोर्याएको थियो । दहियेह नामले चिनिने यस क्षेत्रमा सयौँ हजार मानिस बसोबास गर्छन् इजरायलले हारेत ह्रेक, घोबेइरी, लायलाकी, हादाथ, बुर्ज अल–बराजनेह, तह्वितत अल–घदिर र चियाह क्षेत्रमा चाँडै आक्रमण हुन सक्ने चेतावनी दिएको थियो । लेबनानका अधिकारीहरूका अनुसार लडाइँमा परी मंगलबारसम्म ७ लाख ५९ हजार ३०० जना मानिस विस्थापित भएका छन् । तीमध्ये १ लाख २२ हजार ६०० जना आश्रयस्थलहरूमा बसिरहेका छन् ।


