अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

सहयात्रा टिभी

काठमाडौं । फागुन २७, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन ‘NXT 2026’ मा सम्मानित अतिथिका रूपमा निमन्त्रणा गरिएको छ । भारतीय संसद्को माथिल्लो सदन राज्यसभाका सदस्य कार्तिकेय शर्माले भट्टराईलाई पत्र लेख्दै फागुन २८ देखि ३० सम्म हुने उक्त कार्यक्रमका लागि निमन्त्रणा गरेका हुन् । दिल्लीमा हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन् भट्टराई आज दिल्ली जाँदै छन्।

नयाँ दिल्लीस्थित ‘द भारत मण्डपम’ मा आयोजना हुने यस सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा रहने पत्रमा उल्लेख छ । यस्तै, अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन र स्वीडेनका पूर्वप्रधानमन्त्री फ्रेडरिक रेनफेल्ड सम्मानित अतिथिका रूपमा सहभागी हुनेछन् । शर्माले स्थापना गरेको यस फोरममा विश्वभरका ३ सयभन्दा बढी विशिष्ट व्यक्ति सहभागी हुने बताइएको छ ।

सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स, व्यापार, रक्षा, शिक्षा, स्वास्थ्य र सुशासनसहित २२ वटा विभिन्न सत्र सञ्चालन हुनेछन् । यस कार्यक्रममा ४० देशका ७० जना सांसद र विश्वका चर्चित विश्वविद्यालयका ७५ भन्दा बढी विद्यार्थीको समेत सहभागिता रहने छ । विश्वका परिवर्तनकारी व्यक्तिलाई एकै ठाउँमा ल्याएर मानव जातिको भविष्यका लागि मार्गचित्र तयार गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको सांसद शर्माले बताएका छन् ।

 

प्रकाशित : 11 March, 2026

प्रतिक्रिया दिनुहोस्