इलाम-१ र गोरखा-१ को समानुपातिक मतगणना अन्तिम चरणमा
सहयात्रा टिभी
काठमाडौं । फागुन २७, प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगले इलाम–१ र गोरखा–१ मा जारी समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको जनाएको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले भने, ‘इलाम–१ र गोरखा–१ को गणना अब एकछिनमा सकिँदैछ ।’
मतगणनाको पछिल्लो परिणामअनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ ।
प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, ९ सिटमा झरेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत समानुपातिकतर्फ पाएको आयोगले जनाएको छ ।
यस्तै प्रत्यक्षतर्फ सात सिटसहित चौथौ भएको नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार १७१ मत पाएको छ । पाँचौ भएको श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले तीन लाख ७४ हजार ३१४ मत ल्याएको छ ।
समानुपातिकतर्फ हालसम्म एक करोड सात लाख ३२ हजार ९३२ मतहरू गणना भइसकेका छन् । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।
यसअघि राष्ट्रिय दल बनेका र थ्रेसहोल्ड कटाएका मधेशवादी दलहरू यसपल्ट निकै पछि परेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले एक लाख ७४ हजार ३१४ मत पाएको छ ।
त्यस्तै जनमत पार्टीले ७८ हजार ९५३ मत ल्याएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएको छ ।


