धरानको अटल ग्यारेजमा पार्किङ गरिएका ६ बसमा आगलागी

सहयात्रा टिभी

काठमाडौं । फागुन २७, सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो ।

आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए । उनका अनुसार तीनवटा बसमा आंशिक क्षति भएको छ ।

उनका अनुसार को. १ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको छ ।

को. १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ बस, र बा. ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको छ ।

डीएसपी खड्काका अनुसार आगलागीको कारण अनुसन्धान भइरहेको छ । ‘प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिले आगजनी गरेको जस्तो देखिँदैन । बसभित्रै तार सर्ट भएर आगलागी भएको जस्तो देखिएको छ,’ उनले भने, ‘सीसी टिभी फुटेज हेर्दा कुनै शंकास्पद गतिविधि पनि देखिएको छैन । थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार  को १ ख ६२७४  को बसबाट आगो सुरु भएको थियो । विराटनगर–धरान रुटमा चल्ने यो बसमा एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगो लागेको थियो ।

 

प्रकाशित : 11 March, 2026

प्रतिक्रिया दिनुहोस्