आगामी संसद्को नयाँ समीकरण तयार
सहयात्रा टिभी
काठमाडौं । फागुन २७, प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएसँगै आगामी संसद्को नयाँ समीकरण तयार भएको छ ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने भएपछि उसले कुल १८२ सिट पुग्ने निश्चित भएको छ ।
रास्वपा संसदको सबैभन्दा ठूलो दलको रुपमा उदाएको छ । ऊ दुई तिहाइ बहुमतबाट मात्र दुई सिटले टाढा रह्यो । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ ।
निर्वाचन आयोगले आयोगले समानुपातिक मतको आधारलाई समेत लिएर सिट निर्धारण गरेपछि मात्र यकिन संख्या आउनेछ ।
तर आयोगले सिट विभाजनका लागि प्रयोग गर्ने ‘सेन्ट लग फर्मुला’मा राखेर अहिले दलहरूले प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँट गर्दा उसको प्रत्यक्ष र समानुपातिक दुवैबाट कूल १८२ सिट पुग्ने देखिएको हो ।
रास्वपाले समानुपातिकमा कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ । यो कुल मतको करिब साढे ४७ प्रतिशत भन्दा बढी हो ।
दोस्रो पार्टीको रुपमा रहेको नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउने देखिएको छ । कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ । कांग्रेसले १७ लाख ५४ हजार ५२ मत ल्याएको छ । प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसको ३८ सिट हुने देखिएको छ । गत चुनावको भन्दा करिब आधा बढी कम सिट हो । यसअघि कांग्रेसको ८९ सिट थियो ।
एमालेले समानुपातिकबाट १६ सिट पाउने देखिएको छ । उसले प्रत्यक्षमा ९ सिट जितेको छ । अब प्रतिनिधि सभा २५ सिट हुनेछ । यो संख्या गत प्रतिनिधि सभाको भन्दा तेब्बर कम सिट हो ।
नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकमा ९ सिट पाउने देखिएको छ । उसले प्रत्यक्षमा ८ सिट जितेको छ । अब प्रतिनिधिसभामा नेकपाको १७ सिट हुनेछ । नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ८ हजार ५ सय ८२ मत पाएको छ ।
यो प्रतिनिधिसभामा श्रम संस्कृति र राप्रपाले समानुपातिकमा ४र४ सिट पाउने देखिएको छ । श्रम संस्कृतिले ३ सिट प्रत्यक्षमा जितेकाले अब उसको कुल ७ सिट हुनेछ । राप्रपाले प्रत्यक्षमा एक सिट जितेकाले कुल ५ सिट हुनेछ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिँदै अब त्यसको सिट बाँडफाँटको काम अगाडि बढ्ने बताए ।


