मकवानपुरमा प्रहरीमाथि आक्रमण गर्ने दुई जनालाई पक्राउ
सहयात्रा टिभी
काठमाडौं । फागुन २८, मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागूऔषध सेवन गरेर झगडा गरिरहेको सूचनापछि पुगेको प्रहरीमाथि आक्रमण भएको छ ।

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार बेलुका करिब ९ बजेको समयमा घटनास्थलमा पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गर्ने क्रममा एक्कासी तामाङमाथि बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरिएको डिएसपी बोगटीले जनाए । आक्रमणबाट तामाङका दुवै हातमा चोट लागेको छ ।
प्रहरी सहायक निरीक्षक तामाङले साथमा रहेको पेस्तोलबाट एक राउन्ड फायर गर्दा हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडा बस्ने अन्दाजी १९ वर्षीय सनिस तितुङलाई गोली लागेको छ ।
उनको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ । उपचारका लागि सिएमसी चुरेहिल अस्पताल, हेटौंडा ल्याइएका घाइते तितुङको स्वास्थ्य अवस्था मध्यम छ ।


