धनुषामा मृत्य अवस्थामा भेटिएकी एक युवतीको अझै पहिचान खुलेन
सहयात्रा टिभी
काठमाडौं । फागुन २९, धनुषाको औरही गाउँपालिका–१ पौडेसरस्थित सडकछेउ अन्दाजी २५ वर्षीया युवतीको शव फेला पर्यो ।

युवतीको बायाँ कञ्चटमाथि गोली लागेको निशान थियो । बायाँबाट छेडेर गोली दायाँभाग हुँदै निस्किएको थियो ।
ती युवती को थिइन् ? कसले उनको हत्या गरेको थियो ? अहिलेसम्म केही पत्तो लागेको छैन । प्रहरीले अनुसन्धान चलिरहेको बताउँछन् । तर, युवतीको पहिचानसम्म खुल्न सकेको छैन ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार कालो वर्णकी, करिब ५ फिट ४ इन्च उचाइ भएकी ती युवतीले निलो सुरुवाल, सेतो स्वेटर र खुट्टामा चप्पल लगाएकी थिइन् । स्वेटरको एउटा खल्तीमा बच्चाले खेल्ने सानो खेलौना र अर्को खल्तीमा नेपाली दैनिक पत्रिकाको कागजमा बेरिएको सिन्दूर भेटिएको थियो ।
खल्तीमा पाँच सयभन्दा केही बढी भारतीय रुपैयाँ पनि थियो । घटनास्थलबाट करिब २० मिटर पर तीन मुठा रायोको साग फेला परेको अनुसन्धानका सक्रिय प्रहरी अधिकृतहरू बताउँछन् ।
भारतबाट कसैले फकाएर ल्याई यहाँ हत्या गरेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । गम्भीर प्रकृतिको र विभत्स हत्या भएकाले हालसम्म शव व्यवस्थापन गरिएको छैन ।
घटनाको केही दिनपछि धनुषा प्रहरीले पहिचान पत्ता लगाउन मृतकको तस्वीर र हुलियासहितको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो । घटनाबारे प्रहरीले ७७ वटै जिल्लामा परिपत्र गरेको छ । भारतीय हुन सक्ने आशंका रहेकाले भारतीय प्रहरीसँग पनि समन्वय गरिएको छ । तर, परिवारजन सम्पर्कमा आएका छैनन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार युवती मृत भेटिएको घटनास्थलको प्रकृति हेर्दा बायाँतर्फ कोही व्यक्ति बसेको जस्तो चिह्न देखिन्छ । कुराकानीकै क्रममा कञ्चटमा गोली प्रहार गरिएको हुन सक्ने प्रारम्भिक अनुमान छ । गोली लागेपछि युवती धेरै छटपटाउन नसकेर सडकबाट तलतिर लडेर घटानास्थलमै मृत्यु भएको देखिएको प्रहरीको अनुसन्धान छ ।
‘पहिला बायाँ छेउमा मानिस बसेर कुराकानी गरेको र त्यसपछि कानमाथि गोली प्रहार गर्दा धेरै संघर्षसमेत गर्न नपाएर घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ,’ अनुसन्धान अधिकारीले भने ।
भारतबाट कसैले फकाएर ल्याई यहाँ हत्या गरेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । गम्भीर प्रकृतिको र विभत्स हत्या भएकाले हालसम्म शव व्यवस्थापन गरिएको छैन । शव प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।


