दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सहयात्रा टिभी

काठमाडौं । चैत्र २, दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानीको उपायस्वरूप दुबई अन्तर्राष्ट्रिय विमानस्थलका सम्पूर्ण उडानहरू अस्थायी रूपमा स्थगित गरिएको घोषणा गरेको छ।

दुबई एयरपोर्ट्सका अनुसार, विमानस्थलमा निरन्तर देखिएको सञ्चालन अवरोधका बीच डिएक्सबीबाट हुने केही उडानहरूलाई अल मक्तुम अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट (मोडिएको) गरिएको छ।

यात्रुहरूलाई उडान तालिका र यात्रा योजनाहरूबारे पछिल्लो अपडेटका लागि आ-आफ्नो एयरलाइन्समा सम्पर्क गर्न सल्लाह दिइएको छ। यससम्बन्धी थप जानकारीहरू प्राप्त हुने बित्तिकै आधिकारिक माध्यमहरूमार्फत सार्वजनिक गरिनेछ।

यस लगत्तै, एमिरेट्स एयरलाइन्सले पनि अर्को सूचना जारी नभएसम्मका लागि दुबई आउने र जाने आफ्ना सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको घोषणा गर्दै यात्रुहरूलाई विमानस्थलतर्फ नजान आग्रह गरेको छ।

थप जानकारी प्राप्त हुने बित्तिकै अपडेट गराउने एयरलाइन्सले जनाएको छ। साथै, यात्रु र चालक दलको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहेको कुरामा जोड दिँदै एमिरेट्सले ग्राहकहरूको समझदारी र धैर्यताका लागि धन्यवाद ज्ञापन गरेको छ।

यात्रुहरूलाई उडानसम्बन्धी पछिल्लो अपडेटका लागि आफ्नो एयरलाइन्ससँग बुझ्न पुनः सल्लाह दिइएको छ र थप जानकारी उपलब्ध हुने बित्तिकै आधिकारिक च्यानलमार्फत साझा गरिने बताइएको छ।

दुबई प्रहरीद्वारा एयरपोर्ट रोड र एयरपोर्ट टनेल बन्द

दुबई प्रहरीले एयरपोर्ट रोड (विमानस्थल सडक) र एयरपोर्ट टनेल (विमानस्थल सुरुङमार्ग) अस्थायी रूपमा बन्द गरिएको घोषणा गरेको छ। आपतकालीन कार्यहरू जारी रहेकाले प्रहरीले सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

यसअघि, दुबई मिडिया अफिसले बताएअनुसार नागरिक सुरक्षा (सिभिल डिफेन्स) टोलीले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै रहेको “एउटा इन्धन ट्याङ्कीमा भएको क्षतिका कारण लागेको आगोलाई सफलतापूर्वक नियन्त्रणमा” लिएको छ। अमेरिका-इजरायल र इरानबीच जारी युद्धका कारण पछिल्लो समय मध्यपूर्व अशान्त बनेको छ । विशेष गरी इरानले खाडी राष्ट्रहरुलाई निसाना बनाएर निरन्तर मिसाइल तथा ड्रोन आक्रम गर्दै आएको छ ।

प्रकाशित : 16 March, 2026

प्रतिक्रिया दिनुहोस्