रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध परेको रिटमा आज पनि सुनुवाइ हुँदै

सहयात्रा टिभी

काठमाडौं । चैत्र २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ।

आइतबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुरु भएको उक्त रिटको सुनुवाइ नसकिएपछि अदालतले यसलाई ‘हेर्दाहेर्दैमा’ राखेको थियो। आज सोही रिटमाथि निरन्तर सुनुवाइ अगाडि बढाइने तयारी छ।

यसअघि महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता लिने निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

महान्यायाधिवक्ताको उक्त निर्णय कानुनी रूपमा त्रुटिपूर्ण रहेको भन्दै युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्।

महान्यायाधिवक्ताको निर्देशनपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता (अभियोग संशोधन) का लागि अदालतमा निवेदन पेश गरिसकेको छ। यद्यपि, सर्वोच्च अदालतमा विचाराधीन यस रिटको टुंगो नलागेसम्म जिल्ला अदालतले मुद्दा फिर्ताको विषयमा कुनै निर्णय नगर्ने भएको छ।

यी दुई कसुर (सम्पत्ति शुद्धीकरण र संगठित अपराध) सम्बन्धी मुद्दा फिर्ता भए पनि सभापति लामिछानेविरुद्धको सहकारी ठगी मुद्दा भने यथावत् नै रहनेछ।

प्रकाशित : 16 March, 2026

प्रतिक्रिया दिनुहोस्