समानुपातिकबाट प्रतिनिधिसभामा अपांगता भएका ५ जना सांसद्

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३, समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा अपांगता भएका ५ जना सांसद् भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गंगा छन्त्याल र रमेश प्रसाईं, नेपाली कांग्रेसको तर्फबाट मदनकृष्ण श्रेष्ठ, नेकपा एमालेको तर्फबाट एशुदा कुमारी बराल र नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रेम बहादुर बयक प्रतिनिधि सभा सदस्य भएका हुन् ।

यीमध्ये प्रसाईं खस आर्य पुरुष क्लस्टरबाट समानुपातिक सांसद भएका हुन् भने बाँकी ४ जना अपांगता क्लस्टरबाट आएका हुन् ।

पूर्वसांसद तथा अधिकारकर्मी प्रकाश पन्थ समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित हुनुलाई समावेशी लोकतन्त्रतर्फको महत्वपूर्ण नीतिगत उपलब्धि मान्दछन् ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र सातै प्रदेशमा अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण तथा प्रभावकारी सहभागिता बढाउने दिशामा यो महत्वपूर्ण कदम भएको उनले बताए ।

केही महिना अघि राष्ट्रिय लोकतान्त्रिक अपांग संघको पहलमा अध्यक्ष माधव प्रसाद चम्लागाईं, पूर्व अध्यक्ष एवं हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थ, संघका उपाध्यक्ष अनिता घिमिरे तथा महामन्त्री गणेश केसी लगायतको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन आयोग सहित सम्बन्धित निकायलाई आवश्यक व्यवस्था गर्न आदेश दिएको थियो ।

उक्त आदेशको प्रभावस्वरूप अब राजनीतिक दलहरूले प्रतिनिधि सभाको समानुपातिक सूचीमा कम्तिमा एक जना अपांगता भएका व्यक्तिलाई अनिवार्य रूपमा समावेश भएका हुन् ।

यसलाई समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण नीतिगत सुधारका रूपमा हेरिएको पन्थले बताए ।

 

प्रकाशित : 17 March, 2026

प्रतिक्रिया दिनुहोस्